नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र अन्तर्गत रहेको यस शितोष्ण बागबानी विकास केन्द्रको स्थापना तत्कालिन श्री ५ को सरकारको तेश्रो पञ्चवर्षीय योजनाकालमा भारतीय सहयोग नियोग र नेपाल सरकारको संयुक्त प्रयासमा २०२३ साल भाद्र १४ गते अर्चाड कम नर्सरीको रुपमा स्थापना भएको हो। मुस्ताङ्ग जिल्ला घरपझोङ गाउँपालिका वडा नं. २ मा अवस्थित यस केन्द्रले ५३ वर्षको लामो अवधिमा बिभिन्न विभाग, परिषद अन्तर्गत रही (अर्चाड कम नर्सरी थाक मार्फा २०२३ साल, कृषि फार्म थाक मार्फा २०२९ साल, राष्ट्रिय शितोष्ण बागवानी अनुसन्धान केन्द्र मार्फा २०४३ साल, बागवानी केन्द्र मार्फा २०५२ साल र शितोष्ण बागवानी विकास केन्द्र मार्फा २०६१ साल) विभिन्न बागवानीजन्य क्रियाकलापहरु संचालन गर्दै राष्ट्रिय स्रोत केन्द्रको रुपमा कार्य गर्दै आएको छ । स्थापनाकालमा २० रोपनी जमिनबाट शुरु भएको यस केन्द्रले २०२९ र २०३५ सालमा जग्गा बढाउंदै हाल १७६ रोपनी (१७५ रोपनी मार्फामा र १ रोपनी जोमसोममा) क्षेत्रफलमा फैलिएको छ । सशस्त्र द्वन्द्वको समयमा वि.सं. २०५८ सालदेखि केन्द्रको स्वामित्वमा रहेको थासाङ–४, घाँसा स्थित २० रोपनी जग्गा सुरक्षा निकाय (नेपाली सेना) ले प्रयोग गर्दै आइरहेको छ ।

यस केन्द्र जिल्लाको सदरमुकाम जोमसोम देखि ७ किलोमिटर दक्षिण कालीगण्डकीको किनारमा अवस्थित छ । केन्द्र २८o २०' देखि २९o ०५' उत्तरी अक्षांश र ८३o ३०' देखि ८४o १५' पूर्वी देशान्तरमा अवस्थित छ भने समुद्री सतहदेखि २६५० मिटर उचाईमा रहेको छ ।